सर्लाहीमा १३२ केभी टावरमा युवती चढेपछि विद्युत् आपूर्ति बन्द
सारांश
- सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी विद्युत् प्रसारण लाइनको टावरमा एक युवती चढेपछि जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ।
- बिहीबार साँझ करिब ४ः३० बजे कविलासी नगरपालिका–७ सिरसियाकी १७ वर्षीया युवती प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी हुन्।
- प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार युवती टावरको माथिल्लो भागमा पुगेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् आपूर्ति बन्द गरिएको हो।
२९ असोज, सर्लाही ।
सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी विद्युत् प्रसारण लाइनको टावरमा एक युवती चढेपछि जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब ४ः३० बजे कविलासी नगरपालिका–७ सिरसियाकी १७ वर्षीया युवती प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी हुन्। प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार युवती टावरको माथिल्लो भागमा पुगेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् आपूर्ति बन्द गरिएको हो।
स्थानीयका अनुसार युवतीले टावर चढ्नुअघि चप्पल तलै खोलेकी थिइन्। त्यसपछि आफ्ना कपडा टावरमा झुन्ड्याएर माथिल्लो भागमा बसेकी थिइन्। स्थानीयले उनको मानसिक अवस्था ठीक नरहेको बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै युवतीलाई सुरक्षित रूपमा तल झार्न नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले युवतीको उद्धारका लागि प्रहरी परिचालन गरिएको र उद्धार प्रयास जारी रहेको जानकारी दिएका छन्।
युवती टावरमा चढेपछि विद्युत् सेवा बन्द गर्नुपर्दा जिल्लाका विभिन्न स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन्। घटनास्थलमा उद्धारको प्रयास भइरहँदा विद्युत् आपूर्ति कहिलेसम्म सुचारु हुने भन्नेबारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन।
प्रतिक्रिया