सर्लाहीमा दसैँको रौनक, सयभन्दा बढी स्थानमा दुर्गा पूजा सुरु
सारांश
- सर्लाहीमा आइतबारदेखि दसैँको चहलपहलसँगै दुर्गा पूजाको रौनक बढेको छ ।
- जिल्लाका २० वटै पालिकामा कलश यात्रा निकाल्दै दुर्गा पूजाको विधिवत् सुरुवात गरिएको हो ।
- सर्लाहीका सयभन्दा बढी स्थानमा दुर्गा पूजाको आयोजना गरिएको छ ।
२६ असोज, सर्लाही ।
सर्लाहीमा आइतबारदेखि दसैँको चहलपहलसँगै दुर्गा पूजाको रौनक बढेको छ । जिल्लाका २० वटै पालिकामा कलश यात्रा निकाल्दै दुर्गा पूजाको विधिवत् सुरुवात गरिएको हो । सर्लाहीका सयभन्दा बढी स्थानमा दुर्गा पूजाको आयोजना गरिएको छ । दुर्गा पूजाका लागि जिल्लाका विभिन्न मन्दिर परिसर, चोक तथा बजार क्षेत्रमा दुर्गा माताको मूर्ति स्थापना गरी पूजापाठ सुरु गरिएको छ । कलश यात्रामा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो । विभिन्न स्थानमा बाजागाजासहित निकालिएका यात्राले बजार तथा गाउँबस्तीमा चाडपर्वको रौनक थपेको छ ।
मलंगवा नगरपालिका – १० स्थित तीन बिघे मैदानमा नवनिर्मित दुर्गा मन्दिरबाट आइतबार पौराणिक बाजागाजासहित नवनिर्मित दुर्गा मन्दिरमा स्थापना गर्ने मुर्ति सँग भव्य कलश यात्रा निकालिएको थियो । वडा अध्यक्ष मुकेश झाले मन्दिरबाट निकालिएको कलश यात्रामा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको जानकारी दिए । उक्त मन्दिरमा असोज ३१ गते सप्तमी अर्थात् फूलपातीका दिन दुर्गा माताको मूर्तिको प्राण प्रतिष्ठा गरिने उनले बताए । यस्तै, लालबन्दी, हरिवन, ईश्वरपुर, मलंगवा र बरहथवालगायतका प्रमुख बजार तथा गाउँगाउँमा पनि कलश यात्रा निकालिएको थियो ।
यात्रामा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, सुरक्षाकर्मी तथा सर्वसाधारण सहभागी भएका थिए । नवरात्रभर दुर्गा पूजास्थलमा श्रद्धालुको भीड बढ्ने भएकाले जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यकताअनुसार पूजास्थलमा सुरक्षाकर्मी परिचालन गरिने बताए । सर्लाहीमा दुर्गा पूजाका लागि स्थापना गरिएका मूर्तिह� विजयादशमीको भोलिपल्ट मात्र विसर्जन गरिने छ ।
प्रतिक्रिया