शिक्षकको व्यवस्था माग गर्दै कविलासीमा विद्यार्थीको प्रदर्शन
सारांश
- शिक्षकको पर्याप्त व्यवस्था गर्न माग गर्दै सर्लाहीको कविलासी नगरपालिकामा विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् ।
- कविलासी नगरपालिका–स्थित जमुनिया माध्यमिक विद्यालयका विद्यार्थी दिउँसो करिब २ बजेदेखि नगरपालिका कार्यालयमा भेला भएर विरोध जनाएका हुन् ।
- विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था नभएको भन्दै विद्यार्थीले नगरपालिका कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
२२ असोज, सर्लाही ।
शिक्षकको पर्याप्त व्यवस्था गर्न माग गर्दै सर्लाहीको कविलासी नगरपालिकामा विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् । कविलासी नगरपालिका–स्थित जमुनिया माध्यमिक विद्यालयका विद्यार्थी दिउँसो करिब २ बजेदेखि नगरपालिका कार्यालयमा भेला भएर विरोध जनाएका हुन् । विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था नभएको भन्दै विद्यार्थीले नगरपालिका कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरू नवलपुर–मलंगवा सडकमा पुगेर सडक अवरुद्ध गरेका थिए। दिउँसो करिब साढे २ बजेदेखि विद्यार्थीले सडकमा प्रदर्शन गर्दै सवारीसाधन आवतजावतमा रोक लगाएपछि उक्त सडकखण्डमा यातायात प्रभावित भएको थियो ।
चक्काजाम खुलाउन स्थानीय तह र सुरक्षा निकायबाट पहल गरिए पनि विद्यार्थीले आन्दोलन तत्काल फिर्ता लिन मानेका छैनन्। अवस्था नियन्त्रणमा लिन तथा विद्यार्थी र स्थानीय तहबीच सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहितको सुरक्षा टोली घटनास्थमा पुगेको थियो । यसैबीच, कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव रायले विद्यार्थीलाई उक्साएर नगरपालिका कार्यालय र सडकमा प्रदर्शन गर्न ल्याइएको आरोप लगाएका छन् । आफू हाल काठमाडौंमा रहेको बताउँदै मेयर रायले काठमाडौं फर्किएपछि विद्यार्थी तथा सम्बन्धित पक्षसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया