सर्लाहीमा किराना पसलको भेन्टिलेसन फोडेर १० लाख चोरी, दुई पक्राउ

तराई संवाददाता तराई संवाददाता
|
बिहिबार, ,
|
|
३० पटक हेरिएको
Shares
सर्लाहीमा किराना पसलको भेन्टिलेसन फोडेर १० लाख चोरी, दुई पक्राउ

सारांश

  • सर्लाहीको लालबन्दी बजारमा किराना पसलको भेन्टिलेसनबाट प्रवेश गरी १० लाख रुपैयाँ नगदसहित चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मरिनतर्फ जाने सडकमा कैलाश साहका छोरा उमाशंकर साहले सञ्चालन गर्दै आएको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको थियो ।
  • पसलको पछाडिबाट भेन्टिलेसनको रड बङ्ग्याएर चोरहरू भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ ।

२२ असोज, सर्लाही ।

सर्लाहीको लालबन्दी बजारमा किराना पसलको भेन्टिलेसनबाट प्रवेश गरी १० लाख रुपैयाँ नगदसहित चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मरिनतर्फ जाने सडकमा कैलाश साहका छोरा उमाशंकर साहले सञ्चालन गर्दै आएको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको थियो । पसलको पछाडिबाट भेन्टिलेसनको रड बङ्ग्याएर चोरहरू भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चोरहरूले पसलको पछाडि रहेको छिमेकी अर्थबहादुर बम्जनको एकतले घरमा भर्‍याङ लगाएर भेन्टिलेसनसम्म पुगेका थिए ।

भेन्टिलेसनको रड बङ्ग्याएर पसलभित्र छिरेपछि उनीहरूले भित्री ढोका फुटाएका थिए । त्यसपछि क्यास काउन्टरका दराजसमेत औजार प्रयोग गरी फुटाएर विभिन्न दरका १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ मूल्य बराबरका तीन बन्डल चुरोट चोरी गरी त्यही भेन्टिलेसनबाट बाहिरिएको प्रहरीले जनाएको छ । चोरीको घटनापछि प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेज तथा विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा सर्लाहीको नारायणखोला–७, हाल लालबन्दी नगरपालिका–१४ का ३७ वर्षीय हिरालाल ब्लोनलाई असोज १८ गते काठमाडौं महानगरपालिका–२३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ब्लोनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार र चोरीका क्रममा प्रयोग गरिएको टी–सर्ट बरामद भएको छ । ब्लोनसँग सोधपुछ गर्ने क्रममा चोरीमा लालबन्दी नगरपालिका–१४ लखनदेही टोलका ४४ वर्षीय चन्द्रे वाइवा समेत संलग्न रहेको खुलेपछि प्रहरीले उनको खोजी थालेको थियो । वाइवलाई असोज २० गते लालबन्दी नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी चोरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
तराई संवाददाता
तराई संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?